Let's save the Nature not for us, but for our coming generation.

प्रकृतिको संरक्षण हाम्रो आफ्नो लागि हैन भावी पुस्ताको लागि गरौं ।

Saturday, May 3, 2008

बाघ आफैंमा आक्रामक होइन


नेपालमा बिगत चार वर्षा ३२ बाघ मारिए। यीमध्ये ५ नरभक्षी थिए। बाघ मारिनुको कारण खासगरी नरभक्षी भएकाले भनिन्छ। तर , उल्लेखित तथ्यांक पनि शंकारहित भने छैन । किनकि मान्छे मार्ने सबैलाई नरभक्षी भन्न मिल्दैन। एकपटक मान्छे मार्दैमा ती नरभक्षी नै हुन्छन् भन्ने पनि छैन। विश्वव्यापी तथ्यांकलाई हेर्दा सयमा तीन बाघमात्र नरभक्षी हुन्छन्। किन त ? हरेक दिन सयौं मानिस जंगल पस्छन्। तीमध्ये अधिकांशलाई कुनै कुशलता र मेहनतबिनै मार्न सक्ने क्षमता हुँदाहुँदै पनि थोरै बाघमात्र नरभक्षी हुन्छन्। सकेसम्म मानिसबाट तर्किएर लुकिलुकी हिंड्छ बाघ। बाघको उपस्थिति भएका एसियाका १४ वटै क्षेत्रमा तिनले मानिसलाई आफ्नो मुख्य आहाराबाट बाहिरै राख्छन्। राष्ट्रिय निकुञ्जमा वन्यजन्तु संरक्षण विभागकै तथ्यांक हेर्दा पनि थोरैमात्र बाघ नरभक्षी भएको पाइन्छ। विभागको तथ्यांकअनुसार निकुञ्ज र सामुदायिक वनभित्र बितेका २५ वर्षा बाघले ७९ व्यक्ति मार्यो।

मानिस ऊभन्दा हतियारले बढी सुसज्जित छ भन्ने उसलाई पक्कै ज्ञान हुन्न। मान्छे मारेमा खोजी खोजी बाघको वंश नै नाश गर्लान् भन्ने डर पनि त उसलाई नहोला। नत भोक लागेका बेला मानिसको वासना सुघ्नासाथ भोक हराउनाले नै हो। बरु बाघको अनुवंशिकी (जीन) मा मानव अनुवंशिकी फरक भएको बोध हुनसक्छ। खासमा त बाघ मानिससँग डराउनुमा तत्काल कसरी भेट्छ र देख्छ भन्नेमा भर पर्छ भन्छन् वन्यजन्तु विशेषज्ञहरू। उदाहरण मानिस चढेको गाडीलाई लिन सकिन्छ। यदि कुनै मानिस गाडीभित्र छ भने बाघले गाडीभित्रको फुच्चे मानिसलाई अलग गराएर हेर्दैन । उसले समुच्चमा एउटा सिँगो गाडीलाई हेर्छ। त्यस्तै , हात्तीमाथि चढेको मानिस र हात्तीलाई अलग अलग नदेखेर एउटै जनावरका रूपमा हेर्छ। अर्थात् हात्ती र कारमा रहेका मानिस तिनै एक अंगसरह हुन् उसका लागि। कार आफ्नो आहारमा नपर्ने र यी दुवै विशाल पनि हुनाले यी दुवैलाई हत्तपत्त आक्रमण गर्दैन। उसले कुनै रोग लागेर , घाइते भएर दौडिन नसक्ने भएमा जनावर लखेट्न सक्दैन। बाघ बूढो हुँदै जाँदा मासु लुछ्ने दाह्रा (क्यानन टिथ) खिइने , भाँचिने वा फुक्लने गर्छन्। यस्ता दाह्रा नभएका बाघलाई शिकार गर्न कठिन पर्छ। यस्ता कमजोर र बूढा बाघ बलिया बाघबाट बच्न पनि बस्ती नजिकका जंगलतिर आउँछन् । किनकि सक्षम बाघहरू प्रायः घना जंगलतिरै बस्छन्। बस्ती वरिपरि आउने यस्तै बाघले नै बस्ती वरिपरिका जीवलाई आक्रमण गर्छन्। ऋतुकालमा पोथी उपयुक्त अवस्थामा देखापरेपछि भालेहरूले पोथी भेट्न आफ्नो सिमाना काट्न थाल्छन्। यो बेला भालेहरूबीच झगडा हुन्छ। २५ प्रतिशत भाले त यौनक्रियाका सवालमा मारिने हुनाले यस्ता झगडा गरेका भाले धेरै आक्रमक हुन्छन्। खासगरी लडाइँमा हारेका बाघले रिसको झोकमा वरिपरि जे देखापर्छ त्यसैमाथि जाइलाग्छन् । उता पोथी ओगटेर बसेका भाले समागमनमै व्यस्त हुन्छन् । हप्तौंदेखि थाकेर र भोकाएर बसेका यस्ता बाघले सजिलै मार्न सकिने जीवमाथि आक्रमण गर्छन्। डमरु १६ महिनाको पुगेपछि मात्रै मासु लुट्ने बंगारा विकास हुन्छन्। यो बंगारा विकास नभएसम्म पूर्णरूपमा माउमा भर पर्छन्। कुनै कारणवश आमा मर्ने , चोटपटक वा रोग लागेर शिकार गर्न नसक्ने अवस्थामा ती डमरुले सजिलो शिकारको खोजी गर्छन्। बस्ती नजिकको जंगलमा बसेर मानिस , घरपालुवा जनावर र घाइते जीव कुर्न थाल्छन्। जंगली जनावर जति छिटो दौडेर भाग्न नसक्ने हुनाले पनि मानिस माथि आक्रमण गर्न सजिलो हुन्छ। सबैभन्दा खतरा त डमरुसहितका बघिनी मानिन्छन्। आफ्ना डमरुको सुरक्षाका लागि जुनसुकै वस्तुमाथि पनि जाइलाग्ने हुनाले यस्ता बघिनीको नजिक परे बच्चा मार्न आएको ठानेर तुरुन्तै आक्रमण गर्छन्। यस्ता बघिनी नरभक्षी भएमा त झन् दीर्घकालीन खतरा रहन्छ। किनकि यिनले आफ्ना डमरुलाई समेत मानव शिकार गर्न सिकाउन थाल्छन्।
भारतको बाघसम्बन्धी बेलायती लेखक स्टेफन मिल्सका अनुसार एउटा पैदलयात्रीले जंगलमा प्रायः देख्ने गरेको भन्दा फरक खाले आर्श्चर्यको विषय हो। किनकि एउटा मानिसको औसत उचाइ एकमिटर ६० सेमि हुन्छ तर बाघ एक मिटरभन्दा होचो। लम्बाई भने तीन मिटरसम्म हुन्छ। त्यसैले जब बाघले मानिसको उचाई देख्छ तब उसले मानिसको लम्बाई ६ मिटरसम्म र ६ मिटर लामो (लमतन्न परेको) विशाल जीवलाई आफूभन्दा शक्तिशाली र आर्श्चर्यको विषय ठानेर डराउँछ। सजिलै मुकाविला गर्न सक्छु भन्ने पक्का नभएसम्म एउटा दक्ष शिकारी हत्तपत्त जाइलाग्दैन। बाघ जंगलको दक्ष शिकारी हो। त्यसैले घरमा रहेसम्म उसले हतारिएर आक्रमण गर्दैन आपतकलीन अवस्थामा बाहेक। अगाडिबाट देखिने मानिसको आकृति बाघका लागि पछाडिका खुट्टाले मात्रै टेकेर अगाडिका खुट्टा उचाली ढाड उभ्याएको भालु वा खरायो जस्तै हो। उभिँदा आफूभन्दा धेरै अग्लो देखिने यस्तो जीवलाई आक्रमण गर्नु बाघले जोखिमपूर्ण ठान्छ। तर सधैं भने यो नियम लागू हुँदैन। किनकि जंगलमा घाँस दाउरा काट्न निहुरिएको बेला बाघले आक्रमण गरेका घटना प्रशस्तै छन्। बाघबाट भएका आक्रमणमध्ये पनि अधिकांश पछाडिबाट हुने गरेका छन्। मानिस निहुरिएको बेला र पछाडिबाट देख्दा मानिस लमतन्न छैन भन्ने थाहा पाउँछ। आफू र आफूले देख्ने गरेका जनावर जस्तै लमतन्न छ भन्ने भ्रम भेटिने हुनाले यस्तो बेला उसले आक्रमण गर्छ। तथ्यांक नै त फेला पर्दैन तर बाघको आक्रमणबाट बचेका घटनामध्ये पछि अधिकांश अगाडिबाट आक्रमण गर्दाको अवस्थाकै बढी भेटिएका छन्। त्यसो त बाघले मानिस मार्नुका अन्य कारण पनि छन्। भारतको सुन्दरवन क्षेत्रमा हरेक वर्ष४० देखि १ सय व्यक्ति बाघबाट मारिन्छन्। यहाँ यस्तै बघिनीले आफ्ना बच्चालाई मानव शिकार गर्न सिकाएकाले यति धेरै मानिस मारिने गरेको विश्वास वैज्ञानिकहरूले गर्दै आएका छन्। तर यसको पुष्टि हुन बाँकी छ। अनेक प्रयत्न गरेर समात्नै आँटेको शिकार फुत्किएको अवस्थामा बाघ निकै खतरा मानिन्छन्। शिकार फुत्किएको बेलाका बाघ पाइला ढिलो चालेर मर्म देखाउने गरेको अवलोकन गरिएको छ। सुकेका झारपात खुट्टाले लतार्ने , गोरेटोका लहरामाथि पनि जाइलाग्ने गरेको पाइएको छ। यस्तो अवस्थाका बाघ त अवश्यै खतरा हुन्छन्। वरिपरि बाँदरको समूह बेस्सरी कराउन थालेपछि पनि बाघ रिसाएर आक्रमक बन्छ। त्यसो त बाघ नरभक्षी हुनुको कारण मानिसको रगत नुनिलो र मासु कमलो हुनाले पनि हो। त्यसैले एकपटक स्वाद लिएका बाघ पल्किने सम्भावना बढी हुन्छ। कमलो मासु चपाउन सजिलो हुनाले पनि प्रायः आकर्षा गर्छ। नुनिलो स्वादबाट बाघ पल्किन्छ भन्ने तथ्य सुन्दरवन क्षेत्रका बाघको प्रारम्भिक अध्ययनबाट पनि देखिएको छ। यो क्षेत्रको पानी नुनिलो छ। यही नुनिलो पानी पिउनाले यहाँका मानिसको शरीर नुनिलो बनाएको छ जसले गर्दा मानव शिकारप्रति यहाँका बाघ बढी आकषिर्त भएको मानिन्छ। हुन त यस्ता बाघबाट बच्ने उपाय नभएका पनि होइनन्। बाघको बासस्थानमा गएर दखल नपुर्याउनु नै बाघबाट बच्ने सर्वोत्तम उपाय हो। बाघको आवाज सुनिएमा अर्के दिशातिर लाग्नु , बाघ हिँडेको बाटो छल्नु , नजिस्काउनु बाघ देखेपछि रुख चढ्नु , ठि • उभिएर समूहमै रहनु उपयुक्त मानिन्छ। बाघले प्राय पछाडिबाट आक्रमण गर्नाले पछाडितिर अनुहार फर्किएको भुकुन्डो लगाएमा पछाडिबाट हेर्दा पनि बाघलाई अगाडिबाटै देखेको भ्रम पर्नाले आक्रमणको सम्भावना कम हुन्छ। यो विधि अपनाउन थालेपछि सुन्दरवन क्षेत्रमा बाघको आक्रमणमा कमी भएको पाइएको छ।

No comments:

Google