Let's save the Nature not for us, but for our coming generation.

प्रकृतिको संरक्षण हाम्रो आफ्नो लागि हैन भावी पुस्ताको लागि गरौं ।

Thursday, June 26, 2008

हात्तीको लिँड (विष्टा) पनि बन्यो आम्दानीको स्रोत

सहरका बस्ती र सडक वरपर फ्याँकिएको हात्तीको लिँडबाट गडयौले मल बनाउन थालेपछि चितवन सौराहावासीले वातावरणीय स्वच्छतासँगै आयआर्जनको बलियो विकल्प पहिल्याएका छन् ।

कुनै प्रयोजनमा नआउने हात्तीको लिँडलाई पहिले बाल्ने र नदी किनारामा लगेर थुपार्ने गरिन्थ्यो । त्यसरी लिँडलाई बाल्दा कार्बनडाइअक्साइडको उत्सर्जन हुने र थुपार्दा पनि मिथेन ग्याँस निस्की वातावरण प्रदूषणको समस्या आउँथ्यो तर अब यसबाट मल बनाउन थालेपछि सहरको सुन्दरता बढेकोमा स्थानीयवासी हषिर्त भएका छन् ।

हात्तीको लिँडलाई सङ्कलन गरेर त्यसमा विशेष किसिमको गड्यौला पालनबाट जैविक मल उत्पादन गर्ने ज्ञानको विकास भएपछि वातावरणीय सरसफाइसँगै सौराहाका महिलालाई आम्दानीको भरपर्दो माध्यम बनेको छ । हाल उनीहरूले दैनिक एक टन मल उत्पादन गरेका छन् र सो मल प्रतिकेजी रु. १२।- देखि १८।- मा बिक्री हुने गरेको छ ।

हात्तीको लिँडलाई गोठेमल बनाउँदा करिब ९ महिना लाग्ने गर्दछ तर त्यसमा गडयौला राखेमा करिब ५० दिनमा मल तयार हुन्छ । त्यस्तो मल कुखुरा, माछा, हाँसको आहारामा प्रयोग गर्नुको साथै अन्नबाली, फलफूल, तरकारीका लागि निकै उपयोगी हुने अनुसन्धानबाट पुष्टि भएको छ । हात्तीको लिँडबाट तयार भएको मल तुरुन्त बिक्री हुने गरेको स्थानीय सरस्वती कडायत बताउनुहुन्छ ।

पहिलेजस्तो घरबाट निस्कँदा नाक थुनेर हिँड्नुपर्ने अवस्था अब छैन, हात्तीले लिँड निकाल्नेबित्तिकै सङ्कलन गरिन्छ, मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासुदेव ढु्ङ्गाना भन्नुहुन्छ- \'अब यो फोहोर रहेन, पैसाको रूपमा लिन थालिएको छ । यसको उचित व्यवस्थापनतर्फ स्वयम सौराहावासी जागरुक भएका छन् ।\'

विश्व वन्यजन्तु कोषको तथ्याङ्कअनुसार सन् २००३ मा नेपालमा १७४ वटा गैँडा रहेकोमा अधिकांश सङ्ख्या चितवनमा नै रहेको छ । चितवन राष्ट्रिय निकुञ्ज वरिपरि करिब १३५ हात्ती रहेका छन् । जसमध्ये झन्डै सयको सङ्ख्यामा सौराहा क्षेत्रमा मात्र रहेको पाइँन्छ ।

सन् २००४ मा सदर चिडियाखाना जावलाखेलमा गरिएको अनुसन्धानअनुसार एउटा वयस्क घरपालुवा हात्तीले दैनिक १०० देखि १३० केजी लिँड उत्पादन गर्दछ ।

यसरी दैनिक उत्पादन हुने हजारौँ केजी लिँडले पर्यटकीय नगरी सौराहाको सुन्दरतामा केही वर्षअघिसम्म नकारात्मक प्रभाव पारेको थियो । पर्यटन प्रवर्द्धनमा हात्तीको महत्वपूर्ण भूमिका रहेपनि त्यसबाट निस्कने लिँडको उचित व्यवस्थापन नहुँदा वतावरण र सरसफाइमा चुनौती थपिएको थियो । यसले गर्दा यहाँ आउने पर्यटकको सङ्ख्यामा ह्रास आएको होटेल व्यवसायीहरू बताउँछन् ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमअन्र्तगत विश्व वातावरण कोष, साना अनुदान कार्यक्रमको आर्थिक सहयोगमा विषादी निरीक्षण नेपाल नामक संस्थाले स्थानीय विभिन्न सङ्घसस्थाहरूको समन्वयमा हात्तीको लिँडबाट गडयौले मल उत्पादन गरी समुदायको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम लागु गरिएको छ ।

तीन महिनाको अवधिमा सडक वरपरमात्र सङ्कलन गरिएको हात्तीको लिँडबाट करिब १० टन गुणस्तरीय मल तयार गरिएको स्थानीय ईश्वरीप्रसाद खतिवडाले जानकारी दिनुभयो ।

लिँड सङ्कलन गरी मल उत्पादन गर्न सुरु गरेपछि सहरको वातावरण सफा र स्वच्छ भएको र यसले पर्यटकमा सकारात्मक प्रभाव परेको हात्ती एसोसिएसनका अध्यक्ष हरिभक्त श्रेष्ठको कथन छ । सौराहा क्षेत्रमा झन्डै सयवटा साना ठूला होटल रहेका छन् र तीमध्ये ठूला होटलहरूले पर्यटकीय सुविधा र आकर्षणका लागि हात्ती पाल्ने गरेका छन् ।

हात्तीको लिँडबाट गुणस्तरीय मलको उत्पादन हुने र त्यसलाई बिक्री गरेर स्थानीय महिलाको आयआर्जनमा वृद्धि आउन थालेपछि स्थानीयवासीमा यसप्रतिको आकर्षण बढ्न थालेको बताउँदै प्रा.डा. आनन्दशोभा ताम्राकार भन्नुहुन्छ- \'आगामी दिनमा यसको व्यावसायिक उत्पादनमा जोड दिनेछौँ र यसका लागि निकुञ्जभित्र रहेको जङ्गली हात्तीको पनि लिँड सङ्कलन गरिनेछ ।\' 

हाल सौराहा क्षेत्रमा एउटा मात्र गडयौले मल कम्पोष्टिङ केन्द्र रहेकोमा छिट्टै थप दुईवटा केन्द्रको स्थापना गर्ने उहाँले बताउनुभयो ।

पृथ्वीमा पाइने ठूलो आकारको यस जनावर चोरी निकासीको कारण विस्तारै लोप हुन थालेको छ । साइटिस महासन्धिले जोखिमको अवस्थामा रहेको भन्दै यस जनावरलाई अनुसूची-१ मा राखेको छ भने राष्ट्रिय निकुञ्ज संरक्षण ऐन २०२९ मा पनि हात्तीलाई संरक्षित जनावरको रूपमा लिइएको छ।

बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षमा पनि हात्तीको लिँडको व्यवस्थापन गरी गडयौले मल बनाउन सकिने र त्यसबाट स्थानीय जनताको आयस्तरमा सुधार आउने देखिन्छ । हात्तीलाई सोख वा व्यावसायको रूपमा मात्र नभई यसले निकाल्ने लिँडबाट मल पनि तयार गर्न सकिने भएपछि हात्तीपालनतर्फ आकर्षण बढ्न गई यसको संरक्षणमा सहयोग पुग्ने देखिन्छ ।

हात्तीको लिँडको व्यवस्थापनबाट पर्यटकको आकर्षण बढाउन मात्र नभई हरित गृह ग्याँसको उत्सर्जन र रासायनिक मलको उपयोगलाई कम गरेबापत जलवायु परिवर्तनमा पर्ने असरलाई कम गर्ने हुँदा यसले वातावरण सन्तुलनमा पुर्ћयाएको योगदानलाई अध्ययन गरी स्वच्छ विकास संयन्त्रमार्फत कार्बन बिक्री गर्न सकिने सम्भावना रहेको छ ।

If you save the nature, it saves your life.

Sunday, June 22, 2008

कसरा नौलो पर्यटकीय आकर्षण

 
घडीयाल गोही संरक्षण, कछुवा संरक्षणसँगै बनेको गिद्ध प्रजनन केन्द्रका कारण निकुञ्जको कसरा पर्यटकको आकर्षण बनेको छ। अझै सोही ठाउँनजिकै रहेकी नारायणी नामकी बघिनीका कारण यस क्षेत्रमा अवलोकन गर्न धेरैले रूचाउने गरेका छन्। दुर्लभ एकसिंगे गैंडा र पाटेबाघको कारण विश्‍वमा प्रख्याति कमाएको चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय नजिकै कसरामा बनाइएको घडीयाल संरक्षण कार्यक्रम र प्रजनन केन्द्र पर्यटकको आकर्षण थियो नै सोही केन्द्र नजिकै बनाइएको कछुवा र गिद्धको संरक्षण केन्द्रले त यसमा सुनमा सुगन्ध थपिदिए जस्तै बनेको छ। २०३५ सालमा तत्कालीन सरकार र फ्रयाङ् फर्ट जुलोजिकल सोसाइटीको संयुक्त प्रयासमा घडीयाल संरक्षण केन्द्र खोलिएको हो। सफल मानिएको यो केन्द्र अनुवंशिक कोश (जिन बैंक) को रूपमा रहेकोले पनि यस क्षेत्रमा अध्ययन अनुसन्धानकर्ताहरूको लागि आकर्षण मानिएको छ। गोहीलाई सिमसार परिस्थितिक प्रणालीको मुख्य प्रजाति मानिन्छ। एसियाका पाँच मुख्य नदी पाकिस्तानको सिन्धु, भारतको गंगा र यसका नेपाल र भारतका शाखा नदीहरू, भारतको महानदी, भुटान बंगलादेशमा पर्ने ब्रहमपुत्र, बर्माको कालादान, नेपालका कणार्ली, महाकाली, नारायणी, कालीगण्डकी, सप्तकोसी र बबईमा घडीयाल गोही पाइने विज्ञहरू बताउँछन्। स्तनधारी जनावरले भन्दा कम खाना खाने घडीयाल गोहीको मुख्य आहारा भनेको माछा हो। प्राकृतिक बासस्थानबाट गोहीका अन्डा खोजी गरी ल्याएर हुर्काइएका वयस्क गोहीलाई नारायणी, राप्ती नदीदेखि पूर्वमा कोसी, बागमतीदेखि पश्‍िचममा कणार्ली, राप्ती, भेरी, बबईसम्म लगेर छोड्ने गरिएको छ। निकुञ्ज स्रोतका अनुसार प्रजनन केन्द्र स्थापनापछि झन्डै सात सय घडीयाललाई प्राकृतिक बासस्थानमा लगेर छोडी सकिएको छ भने केन्द्रमा झन्डै चार सय गोही रहेका छन्। नेपाल, भारत र पाकिस्तानमा मात्र पाइने घडीयाल गोहीको संरक्षणका लागि सन् १९७८ मा स्थापना गरिएको घडीयाल प्रजजन केन्द्रले १९८६ देखि नदीको प्राकृतिक बासस्थानमा गोही छोड्ने गरेको हो। निकुञ्जको कसरामा रहेको घडीयाल प्रजनन केन्द्र गोहीको प्रजनन र संरक्षणका लागि मात्र नभएर पर्यटकहरूका लागि एक आकर्षण केन्द्रका साथै अनुसन्धानकर्ता र विधार्थीका लागि पाठशालाजस्तै बनेको छ। यस केन्द्रमा अवलोकनका लागि आउने नेपाली पर्यटकलाई कुनै शुल्क नलाग्ने भए पनि विदेशी पर्यटकका लागि भने प्रतिव्यक्ति एक सय रूपैयाँ लाग्दछ। घडीयाल संरक्षण केन्द्रसँगै राखिएको हुँदा कछुवाको अवलोकनमा कुनै शुल्क लिने गरिएको छैन। भर्खरैमात्र राखिएको र बढी संवेदनशील पक्षी भएका कारण गिद्ध प्रजनन केन्द्रको अवलोकनको लागि न त कुनै शुल्क तोकिएको छ न त औपचारिक रूपमा अवलोकन नै खुला गरिएको छ।  


If you save the nature, it saves your life.

Google